काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली लागू गरिएको छ। विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि भारतले अनुमति नदिएपछि नयाँ विकल्पका लागि आरएनपी–एआर प्रणाली लागू गरिएको हो।
उक्त प्रणाली लागू भएसँगै अब कम भिजिबिलिटीमा उडान गर्न सकिने भएको छ। अब यस विमानस्थलमा ९ सय मिटर भिजिबिलिटीमा पनि उडान गर्न सकिन्छ। यसअघि विमानस्थलमा जहाज अवतरणका लागि एक हजार आठ सयदेखि दुई हजार मिटरभन्दा बढिको भिजिबिलिटी आवश्यक पर्थ्यो।
शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु समारोहमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब कुहिरोले पनि उडान प्रभावित गर्न नसक्ने दाबी बताए।
भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको भन्दै उनले आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको र चलाएर देखाउने दाबी समेत गरे।
उनले भने, ‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौं । कमी कमजोरी भए औंल्याउँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ । हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौं। त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरूको सामना गर्नुपर्यो । आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुेको छ ।’