काठमाडौं। बुटवल–गोरूसिंगे सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको छ। बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक स्तरोन्नतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्।
शिलान्यासको क्रममा गर्दै प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए। प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको र अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको दाबी समेत गरे।
पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ। यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ।