संखुवासभा — चीन, नेपाल र भारत जोड्ने राष्ट्रिय गौरवको जोगवनी-किमाथांका सडक छिचोलिएको छ । ऊर्जामन्त्री दीपक खड्काका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई, पूर्वसांसद राजेन्द्र गौतमसमेतको टोली घोङघोप्पा पुगेर सडकको ब्रेक थ्रु गरेका हुन्।
नेपाली सेनाले चट्टानी भीर फुटाइसकेपछि कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकको च्याम्तांग–घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको छ। यससँगै सडकको स्तरोन्नति र चौडा बनाउने काम गरिने मन्त्री खड्काले बताए ।
यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलव ५ किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । यता सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको १ सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथांकाबाट घोङघोप्पासम्म १४ किमि सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी–किमाथांका सडकको दूरी १ सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।