सिमकोट। एक वर्षदेखि विद्युत्को अपरेटरले तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ। सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको हो।
विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बन्द गरेका हुन्। गतवर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले जानकारी दिए।
विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गर्ने लामाले बताए।