काठमाडौं । सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु गरिएको छ । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माणको शुभारम्भ गरेका हुन।
एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवैपट्टि दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किमी सडक भरानको काम हुने छ। उक्त काम चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ । छ करोड १५ लाख लागत रहेको आयोजना सम्झौता अवधिभित्र काम सम्पन्न गर्न अध्यक्ष कुँवरले निर्माण कम्पनीलाई आग्रह गरे ।
उनले सेती राजमार्ग निर्माण लामो समयदेखि ढिला भइरहेको भन्दै यसलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनी लाग्नुपर्ने बताए ।
अध्यक्षले राजमार्गअन्तर्गत पर्ने बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको भन्दै अर्को पुल केही महिनामा सम्पन्न हुने जानकारी दिए ।