काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपी अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन माग गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका हुन् ।
उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए । चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको उनले बताए ।
उनले भने, ‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ । यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ । यसमा कार्टेलिङ भएको छ । सिण्डिकेट भएको छ। यो निर्माण सामग्रीमा र विशेष गरेर सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ ।’
समेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गर्दै उनले निर्माण कार्यमा लागत मूल्य बढिरहेको पनि बताए ।