काठमाडौं। राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया रोकिएको छ। एक खर्व भन्दा माथी लागतमा निर्माण गरिने विमानस्थलका लागि रुख कटानको काम शुरु हुनु भन्दा अघि रुख काट्न नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि निर्माण प्रक्रिया रोकिएको हो।
अन्तर्राष्ट्रिय उडानको विस्तार गरी विश्वका नागरिकलाई हवाइमार्गबाट नेपालमा जोड्ने माध्यमको विकास गर्न विमानस्थलको निर्माण सुरु गरिएको थियो। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार दुई वर्ष भन्दा बढी समय भइसक्दा पनि अझै अदालतले रीट माथि सुनुवाई गर्न नसक्दा निर्माण रोकिएको हो।
तत्काल प्रक्रिया अघि बढाउन र रुख काट्ने वातावरण बनाई दिन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले वन मन्त्रालयलाई पत्रचार गरेको छ।
विमानस्थल निर्माण क्षेत्रको चार किल्लाको सडक र पहुँचमार्ग निर्माणका लागि तत्काल चार हजार २३२ वटा रूख कटान गर्नु पर्ने हुन्छ।
अहिले रुख कटानको काम रोकिएको छ। मुद्दा किनारा लागेपछि तत्काल रुख कटानको काम अघि बढ्ने छ। ईआईए प्रतिवेदनमा विमानस्थल निर्माणका लागि साना–ठूला गरी २४ लाख ५० हजार रूख काट्नु पर्ने उल्लेख गरेको छ।