काठमाडौं। मध्यपहाडी लोकमार्गको बागलुङखण्डको काम अन्तिम चरणमा पुगेको छ। मध्यपहाडी लोकमार्गको बागलुङखण्डको काम हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको हो।
करिब ९० प्रतिशत काम सकिएकाले बाँकी यथाशीघ्र सम्पन्न हुने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार आठ सय ७९ किलोमिटरमा फैलिएको लोकमार्गअन्तर्गत बागलुङमा एक सय ३५ किमी पर्दछ ।
कार्यालयका सूचना अधिकारी किरण सुवेदीले हालसम्म एक सय २२ किमी सडक कालोपत्र भएको बताउँदै अब १३ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए। लोकमार्ग कार्यालयले विभिन्न खण्डमा काम गरिरहेको भन्दै निसीखोला गाउँपालिकाअन्तर्गतका १५ किमीमा काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको उनले बताए ।
उनका अनुसार बागलुङ बजारबाट बयलडाँडासम्मको पाँच किमी र बयलडाँडाबाट घोडाबाँधेसम्मको आठ किमीबाहेक सबै खण्ड कालोपत्र भइसकेको छ । पाँच किमी यसै वर्ष सम्पन्न हुने र बाँकी आठ किमी आगामी वर्षमा सक्नेगरी काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए ।