नवलपरासी। नवलपरासी जिल्लाको कावासोती नगरपालिका–१ बालुवाडाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ। नगरपालिकाले ६८ लाख रुपैयाँ लागतमा ६ तलाको भ्यूटावर निर्माण गरेको हो।
लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको भ्यूटावर ६० फिट अग्लो छ। यस भ्यूटावरबाट जिल्लाका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी नदीको दृश्यावलोकन गर्न सकिने र केही दिनमा नै सञ्चालनमा आउने बताइएको छ।
यस स्थानमा उद्यान, रेष्टुराँ, शौचालय, सवारीसाधन पार्किङ समेत निर्माण गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएको इन्जिनियर पवन रुपाखेतीले जानकारी दिए। सो स्थानमा सम्पूर्ण भौतिक पूर्वाधार निर्माणको लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन अनुसार सबै काम सक्न एक करोड ८४ लाख रुपैयाँ खर्च लग्ने अनुमान गरिएको उनको भनाइ छ।
बालुवाडाँडा ढोणेमा करिब ६० घर परिवार गुरुङ र मगर समुदायको बस्ती रहेकाले होमस्टे सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको छ।