गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक फागुन २० सम्म बन्द भएको छ ।मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी २० फागुनसम्म सडक बन्द गर्ने जनाएको हो।
यो सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने कामका लागि सडकमा यातायात सञ्चालन बन्द गरिएको हो ।
सडक बन्द भएपछि कार्यालयले वैकल्पिक मार्गका रुपमा सातमुरेदेखि–श्रृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सिजिको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडी सडक प्रयोगमा ल्याएको छ ।
कार्यालयले आवश्यक समन्वय र सहजीकरण गर्न गुल्मी र अर्घाखाँची जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य संघ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरेको छ ।