काठमाडौं। ग्वार्को ओभरपासको काम पुनः सुरु गरिएको छ। ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नभएको भन्दै पुस १८ बाट निर्माण व्यवसायीले रोकेको काम बुधबारबाट पुनः सुरु गरेको हो।
चैत्रसम्ममा काम सक्ने गरी निर्माण व्यवसायी काम थालेको हो। २०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । यस अघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । व्यवसायीले कुनै जानकारी नै नदिई काम छाडेको भन्दै ठेक्का लगाउने निकाय केन्द्रले दुई पटक ‘नोटिस टु करेक्ट’ पठाएको थियो । अहिले कुनै समस्या नरहेको र काम सुरु भइसकेको सडक विभागले जनाएको छ।
यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो । संयुक्त ठेक्का भए पनि काम रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको छ ।