काठमाडौं। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगन्जदेखि बेलाटारीसम्मको हुलाकी सडक निर्माण कार्य तत्काल सुरु नगरे गाउँपालिकाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ। गाउँपालिका अध्यक्षसहित स्थानीयले सडक निर्माणको माग राख्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
यसअघि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय घेराउ र रिले अनसन गर्दा काम तत्काल अगाडि बढाउने सहमति भएको थियो । सहमति अनुसार काम नभएपछि गाउँपालिका अध्यक्षसहित स्थानीयले यस्तो चेतावनी दिएका हुन् ।
प्रतापपुर गाउँपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई पत्र लेखेर फागुन १५ सम्ममा काम सुरु नभएमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।