म्याग्दी। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा पुल निर्माण भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको मुस्ताङमा तीन वटा पुल निर्माण भएको हो।
घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण भएको छ।
तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले जानाएको छ। मार्फाखोलामा एक सय २० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।
चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते रु १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो ।