काठमाडौं। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको पुरातत्वस्थलमा उत्खनन गरिने भएको छ। पाँचखाल नगरपालिका–७ स्थित पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा पुरातत्व विभागले यस वर्ष उत्खनन गर्ने भएको हो।
उत्खननका लागि नगरपालिकासँग थप प्रक्रियाका लागि समन्वय भइरहेको छ र उक्त स्थानको जमिन सार्वजनिक हो वा व्यक्तिगत छानबिनका लागि समेत पहल भइरहेको विभागले जनाएको छ।
विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्त स्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनःजियोफिजिकल सर्भे गरिनुपर्ने जनाइएको थियो । विज्ञ समूहको उक्त सर्भेको प्रतिवेदन २०७८ सालमा विभागमा आएको थियो । प्रतिवेदनमा लिच्छवीकालीन र मध्यकालीन सम्पदा देखिएपछि पुनःसर्भे गरी उत्खनन गर्न सुझाव दिइएको थियो ।
बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरको विभिन्न स्थानमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएपछि बजेट तथा योजना बनाई चालु आर्थिक वर्षभित्र पुनःसर्भे गरिने जनाइएको थियो ।
विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने बताइएको छ।