काठमाडौं। पाँचथरको फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ। फिदिम नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा ‘बेलिब्रिज’ निर्माण गर्न माग गरेको हो।
गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो । बाढीले फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलाको २५ मिटर लामो सडक पुल बगाएको थियो । पुल बगेपछि अस्थायी डाइभर्सनमार्फत सवारीसाधन खोला पार गर्ने गरेका छन् ।
नगरप्रमुख मित्रप्रसाद काफ्लेले प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको बताए। आगामी वर्षायामसम्ममा बेलिब्रिज निर्माण नभए यो बाटो प्रयोग गर्ने फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका नागरिक प्रभावित हुने उनको भनाइ छ।