काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेक्का लागेका आयोजना चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्। सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री खड्काले आज सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएका हुन् ।
भेटमा उनले सडक तथा पुल निर्माण समयमा नहुँदा सङ्खुवासभावासीले दुःख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले सङ्खुवासभाको बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।
उनले खाँदबारी–किमाथाङ्का सडक कालोपत्र गर्न उत्तरी क्षेत्रमा बजेट अभाव हुन नदिन चीन सरकारसँग छलफल गर्ने बताए ।
भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोसी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले हालसम्म खाँदबारीदेखि किमाथाङ्कासम्मको ४९ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए ।