काठमाडौं। ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर गाउँमा सडक पुर्याएको छ। आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगरस्थित जेल्टुङ बस्ती पुग्ने छ किलोमिर लामो सडकको ट्याक निर्माण गरेको हो।
नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर बुधबार सडकको ट्याक छिचोलिएको छ। ट्याक पुर्याएसँगै बुधबार उक्त बस्तीमा पहिलो पटक जीप समेत पुर्याइएको छ।
बगर गाउँ सडक सञ्जालले जोडिएसंगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको छ। सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् ।
यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ ।