संखुवासभा। राष्ट्रिय सभाका ६ जना सांसदहरूले किमाथांका सडकको अनुगमन गरेका छन्। राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति र सदस्यहरुले कोशी करिडोरको सडक अनुगमन गरेका हुन्।
समिति सभापति सोनाम गेल्जेन शेर्पा, सदस्यहरू किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारीहरू उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की सडक अनुगमन गर्न संखुवासभा पुगेका हुन्।
सांसदहरूले खाँदबारी–किमाथांका सडकअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण बजारसम्म सडक निर्माणको अवस्थाबारे जानकारी लिए। खाँदबारीबाट ८० किमि दूरीमा रहेको बरुणखोलासम्म सडक अनुगमन गरेर टोली बिहीबार नै काठमाडौं फर्किएका छन्। त्यहाँभन्दा माथि किमाथांकासम्म पुग्न सडकको अवस्था राम्रो नभएकाले बरुण खोलासम्म स्थलगत अवलोकनपछि उनीहरु फर्किएको बताइएको छ।
खाँदबारीदेखि किमाथांकासम्म सडकको दूरी १६२ किमि छ। उत्तर दक्षिण कोशी सडकले ०६६ सालमा कार्यालय स्थापना गरी काम अघि बढाइएको थियो। उक्त सडक गत माघ १४ गते छिचोलिएको हो।