काठमाडौं। म्याग्दीको मङ्गला र बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। सडक मार्ग खुलेको १५ वर्षपछि पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति गर्न थालिएको हो।
अहिले पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण कार्य भइरहेको छ।
मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडकमार्ग विसं २०६६ मा खुलेको थियो।
गत मङ्सिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको रु एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामा सकेको छ।
विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेको बताइएको छ।