काठमाडौं। सुडानमा सैन्य विमान दुर्घटना भएको छ। सुडानको राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनामा परेको हो।
विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको छ ।
उच्च अधिकारीहरू बोकेर सैन्य मिसनमा जाँदै गरेको विमान बाक्लो बस्तीमा दुर्घटना भएको थियो। दुर्घटनाबाट केही घरहरूमा समेत ठूलो क्षति पुगेको छ।
स्थानीय स्वयंसेवी समूहले दुर्घटनापछि अस्पतालमा गम्भीर रूपमा जलेका घाइतेहरू र दश शवहरू ल्याइएको जनाएको छ । सो समूहले बाँचेकाहरूमा गम्भीर चोटहरू रहेको पनि उल्लेख गरेको छ ।
विमान दुर्घटनाको कारण खुलेको छैन । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनाको कारण प्राविधिक गडबडी हुनसक्ने जनाएको छ ।