काठमाडौं। त्रिशूली-छहरे-टोखा सडक खण्डमा आजदेखि ‘टाइम कार्ड’ लागू गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न, यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन सोमबार सरोकारवालासहित बसेको बैठकले त्रिशूली(छहरे(टोखा सडक खण्डमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासनले बुधबार जारी गरेको सूचनामा बिहीबारदेखि टाइम कार्ड लागू गर्ने उल्लेख गरिएको छ। सूचनामा लेखिएको छ, ‘विस्तार हुँदै गइरहेको सहरीकरण, बढ्दो सवारी चाप एवम् सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गरी त्यस्तो जोखिम न्यूनीकरण गर्न तथा यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन ०८१ फागुन १२ गते सरोकारवालसहितको बैठकबाट भएको निर्णयअनुसार त्रिशूली(छहरे(टोखा काठमाडौं सडक खण्डमा सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनहरुका लागि ०८१ फागुन १५ गते बिहीबारदेखि लागू हुने गरी सवारी टाइम कार्ड लागू गरिएको छ।’
सवारी दुर्घटनाबाट भौत्तिक, आर्थिक तथा मानवीय क्षतिसमेत हुने भएकोले सवारी साधनहरु सडकको क्षमता तथा प्रकृतिअनुसार निर्धारित मापदण्डभित्र रही मर्यादित रुपमा सञ्चालन हुनु आवश्यक रहेकोमा समेत सूचनामा उल्लेख गरिएको छ।