काठमाडौं। बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा पुल निर्माणको काम तीव्र गतिमा अगाडी बढेको छ। निर्माण व्यवसायीको जमानत रकम निकाल्न पत्र पठाउँदै सडक पूर्वाधार विकास कार्यालयले अन्य कारबाहीको चेतावनी दिएपछि निर्माण व्यवसायीले काम अगाडी बढाएको हो।
निर्माण व्यवसायीको ढिलाइ र त्यसमा कर्मचारीले समयमै उचित निर्णय लिन नसक्दा पुल निर्माण कार्यमा ढिलाइ भइरहेको थियो । अहिले भने पुल निर्माण कार्यले गति लिएको छ । लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जले निर्माण व्यवसायीले असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले निर्माणमा तीव्रता दिएको जनाएको छ ।
पुल निर्माणका लागि निर्माण व्यवसायीको ढिलाइसँगै जमिनमुनि निर्माण गरिएको पायल फाउन्डेसनको काम गुणस्तरीय नभएको आशङ्का भएपछि काम अघि बढ्न सकेको थिएन । सडक पूर्वाधार विकास कार्यालयले फाउन्डेसनको अढाई मिटरभित्रसम्म खोलेर गरिएको परीक्षणमा फाउन्डेसनको काम गुणस्तरीय पाएपछि निर्माण व्यवसायीलाई काम सुरु गराउन भनेको छ । माथिल्लो भागमा कमजोरी देखिएपछि भित्री भाग गुणस्तरीय पाइएको कार्यालयले जनाएको छ ।