काठमाडौं। स्थानीयले नागढुङ्गा सुरुङमार्ग निर्माण कार्यमा रोक लगाएका छन्। स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् ।
गत असोज दोस्रो साता आएको बाढीले सुरुङमार्ग क्षेत्रका एक स्थानीयको घर चर्किएको थियो। उनीहरुले उक्त घरको क्षतिपूर्ति माग गर्दै काम अवरुद्ध गरेका हुन्। निर्माण कम्पनीले भने घरको क्षतिपूर्ति दिन सहमत नभएका कारण सहमति हुन नसकेको आयोजनाले जनाएको छ।
विभागले स्थानीयलाई छलफलमा बोलाएको छ तर स्थानीय विभागमा नगएर विभागका कर्मचारी नै घरमा आउनुपर्ने माग राख्दै आएका छन्।
नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । हालसम्म अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।