काठमाडौं। गत असोज दोस्रो साताको बाढीले क्षति पुर्याएको वीपी राजमार्ग निर्माणका लागि ठेक्का खुलाइने भएको छ। अर्थ मन्त्रालयले वीपी राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर गत फागुन ६ मा स्रोत सहमति दिएसँगै आगामी साता ठेक्का आह्वान गरिने भएको हो।
बर्खाअघि नै ठेक्का सम्झौता पूरा गर्ने र बर्खाको असर हेरेर काम सुरु गर्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । अहिलेसम्म निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सहयोग गर्ने निर्णय गरेको छैन तर तयारी गर्दासम्म जाइकाले निर्णय गरेमा पनि स्वीकार गरेर अघि बढ्ने कार्यालयले जनाएको छ।
वीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो । उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो ।
अहिले यस क्षेत्रमा अस्थायी मर्मत कार्य तीव्र गतिमा भइरहेको छ।