काठमाडौं। मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिकामा स्थानीयले निर्माण कार्यमा रोक लगाएका छन्। मुआब्जा, सडकको चौडाइ र सम्भावित असरको विषय उठाउँदै सुन्दरबजार–७ स्थीत क्यामपस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण कार्यमा स्थानीयले अवरोध गरेका हुन्।
सडक विस्तार गर्दा आफ्नो घरजग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ। त्यसैगरी केही स्थानीयले भने सडकको डिजाइन परिवर्तन गर्नुपर्ने माग राखेका छन्।
सुन्दरबजार बजार क्षेत्रका स्थानीयले श्रीचन्द्र लामिछानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सडक निर्माणको विरुद्धमा दुई वर्षअघि सर्वोच्च आदालतसम्म मुद्दा दायर गरेका थिए। सर्वोच्चबाट यस विषयमा अहिलेसम्म कुनै आदेश आएको छैन। स्थानीय सर्वोच्चको आदेशपछि मात्र सडक निर्माण गर्न दिने बताउँदै निर्माण कार्यमा रोक लगाएका हुन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको छ ।