काठमाडौं। साढे १४ किलोमिटरको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको काम अन्तिम चरणमा पुगेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको साढे १४ किमि सडकको काम पाँच सय मिटर मात्र बाँकी रहेको हो।
यो सडक एक महिनाभित्र सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको रु ८५ लाख खर्च भइसकेको छ भने यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु ४० लाख बजेट उपलब्ध गराएको छ । उक्त सडक एक महिनामा खोलिसकेपछि अर्को वर्षबाट स्तरोन्नतीको काम सुरु हुने बताइएको छ।
सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।