काठमाडौं। विष्णुमती नदी सरसफाइ गर्ने क्रममा कालीमाटी पुल र ज्ञानतीर्थ बीचको नदी खण्डमा फोहरसँग पुरिएको अवस्थामा मूर्ति फेला परेको छ। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा गत फागुन २४ गते मूर्ति फेला परेको हो।
मूर्तिलाई सफा गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ । मूर्ति भीममुक्तेश्वर मन्दिरको भएको स्थानीयले दाबी गरेपछि उक्त स्थानको मूर्ति हो कि होइन भन्नेबारे पुरातत्व विभागबाट अध्ययन गरेर पेस गर्ने तयारी गरिएको छ।
पूर्ववत् स्थानमा मूर्ति राख्नका लागि यो स्थान पहिचान गर्नुपर्ने बताइएको छ । सम्बन्ध भएका निकायसँगको छलफलपछि पुरातत्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने विषयमा साझा धारणा रहने महानगरले जनाएको छ ।