ताप्लेजुङ। ‘नो केबलकार समूह’ले खगेन्द्र फेम्बु लिम्बूको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। मुक्कुम्लुङमा आएको केबलकार निर्माण विवादमा गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुम्लुङ ताङसेप र अन्तरदलीय राजनीतिक दलहरुको वार्ता सहजीकरण टोलीबीच चैत ४ गते भएको वार्ताले उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमतिअनुसार वार्ता समिति गठन गरिएको हो।
पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहेका छन् ।
फेम्बु केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक हुन् भने लिंखिम मुक्कुम्लुङ संघर्ष समितिका संयोजक हुन् । सरकारद्वारा गठित वार्ता समितिले यसअघि उनीहरुको नामै किटान गरेर वार्तामा बोलाउने तयारी पनि गरेको थियो । सिंगकले मुक्कुम्लुङ ताङसेप चुम्भो तथा धनराज र सन्तोष राजनीतिक दलबाट वार्ता समितिमा रहेको उल्लेख छ । सिंगक भने यसअघिको वार्तामा समन्वय समितिको संयोजक रहेकी थिइन् ।