काठमाडौं। रक्षामन्त्री मानवीर राईले नेपाल ट्रस्टको कार्यालय अन्तर्गतको गोकर्ण वनको पर्खाल हटाएर सडक खोल्ने बताएका छन्। मन्त्री राईले गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको अवलोकन गरी त्यहाँको पर्खाल हटाएर सडक खोल्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले स्थानीयवासीलाई गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिण ढोका र मूलपानी पुग्न सहज हुनेगरी सडक खोल्ने बताए। उक्त सडक खोल्न स्थानीयले पटक पटक माग गर्दै आएका थिए।
पर्खालभित्रको सडक नखोलिएकै कारण यस क्षेत्रमा वाग्मतीको करिडोर समेत खुल्न नसकेको भन्दै उक्त पर्खाल हटाएर सडक खोलिनुपर्ने स्थानीयको माग छ। मन्त्रीको अनुगमनका क्रममा वडा नं ४ का अध्यक्ष जयराम महतले यो सडक खुलेमा गोकर्ण ड्याममाथिको क्षेत्रमा हुने जामबाट स्थानीयवासीले राहत पाउने बताए ।
प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठले पनि यो सडक खोल्न माग गर्दै एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्ताव राखेको थिइन्। प्रधानमन्त्री ओली समेत उक्त सडक खोल्न सकारात्मक रहेको बताइएको छ।