काठमाडौं। कालीगण्डकी करिडोरको बागलुङ खण्डमा सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो खण्डको १० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो।
अब पहिलो खण्डमा १४ किलोमिटर कालोपत्र गर्न बाँकी छ भने बलेवादेखि मालढुङ्गासम्मको दोस्रो खण्डमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र ‘रक कटिङ’को काम भइरहेको छ। पालुङखोलादेखि बलेवासम्म ५० प्रतिशत र बलेवादेखि मालढुङ्गासम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।
त्रिदेशीय सडकका रुपमा रहेको करिडोर आयोजना १४ वर्ष अगाडि सुरु भएको थियो । आर्थिक वर्ष २०६७र६८ देखि सुरु भएको आयोजनाले जिल्लाको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनीमा १९ दशमलव पाँच किलोमिटर र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किलोमिटर पर्छ ।
नवलपुरको गैंडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको करिडोर बागलुङको मालढुंगा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइदिएको छ ।