सप्तरी। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा विद्युतीय उपकरण प्रयोग गर्ने किसानलाई आर्थिक अनुदान दिइने भएको छ।नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाबीचको साझेदारी मार्फत उक्त अनुदान दिइने भएको हो।
यस साझेदारी अनुरुप गाउँपालिकामा रहेका करिब साढे ४ हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत गाउँपालिकाले किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्नेछ।
सप्तरी जिल्लाको दक्षिणपूर्वी पुर्वी भेगमा अवस्थित तिलाठी कोईलाडी गाउँपालिकामा यस अघि सिँचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरणबाट कृषिका काम गरिरहेका थिए । यो आर्थिक अनुदान कार्यान्वयनमा आए सँगै अब न्युनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरी विभिन्न कृषिजन्य कामका लागि विद्युतिय उपकरणहरु प्रयोग गर्न सक्नेछन्।
यस योजना अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाले प्रति घर वार्षिक अनुदान १२ सय र कृषि मिटरको महसुल भुक्तानीका साथै प्रति घरको प्रति महिनाको बिजुलीको महसुल ५० रुपैयाँ अनुदान दिने भएको छ। उक्त योजनाको कार्यान्वयनमा खल्तीले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्नेछ।