काठमाडौं। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा बेलिब्रिज निर्माण गरिएको छ। कर्णाली करिडोरअन्तर्गत बाजुराबाट हुम्ला जिल्लाका लागि यातायातका साधनहरु सहज रुपमा सञ्चालनका लागि बाजुराको पिलुमा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०८१ साल वैशाख ७ गते सम्झौता भएर काम सुरु भएको पुल निर्माण कार्य निर्धारित समयभन्दा अगाडी नै सम्पन्न भएको हो। दुई करोड ३४ लाख ९७ हजार रुपियाँमा लागत मा निर्माण भएको बेलिब्रिज खोलाभन्दा दश मिटर अग्लो र ४८ दशमलव आठ मिटर लम्बाईको रहेको छ ।
बेलिब्रिज निर्माण भएपछि सवारी साधनलाई खोलाबाटै पारी तार्नुपर्ने बाध्यताको अन्त्य भएको सवारी साधन चालकहरु बताउँछन्।
उक्त खोलामा पुल नहुँदा यसअघि बर्खायाममा यातायातका साधनहरु बन्द हुने गरेका थिए । अब बेलिब्रिजको निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालनमा आउने भएको भन्दै यातायात चालक र स्थानीय समेत खुसी भएका छन्।