काठमाडौं। ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको उद्घाटन गरिएको छ । ललितपुर महानगरले आफ्नै लगानीमा निर्माणसम्पन्न गरेको पुलको बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन्।
पुल उद्घाटन गर्दै प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माण कार्य गरेको जानकारी दिए।
उनले नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरु अनवरत रुपमा काम गरिराखेको बताए ।
उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ । नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो ।त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’