काठमाडौं। ललितपुर महानगरपालिकाले चक्रपथ बाहिरका वडाको पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्ने भएको छ। ललितपुर महानगरले आफ्नै लगानीमा निर्माणसम्पन्न गरेको वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चक्रपथबाहिर रहेका महानगरका वडाको पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्ने जानकारी दिएका हुन्।
उनले महानगरमा चक्रपथभित्र रहेका वडामा सडक पूर्वाधारको विकासमा ठूलो रकम खर्चनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै चक्रपथबाहिरको पूर्वाधार निर्माणमा बढी लगानी गर्नुपर्ने अवस्था रहेको बताए ।
प्रमुख महर्जनले भने, “राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त हुने बजेट यहाँका पूर्वाधार योजनामा राख्छौँ, २०७३ सालमा महानगरमा जोडिएका वडाहरुको पूर्वाधार निर्माणमा बढी ध्यान दिन्छौँ, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त हुने बजेट यहाँका पूर्वाधार योजनामा राख्छौँ। ”
महानगरप्रमुख महर्जनले गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर सबै स्थानीय तहभन्दा अग्रस्थानमा रहेको बताए । उनले भने, “यसै वर्ष तीन पुल सम्पन्न भएका छन्, चक्रपथमा अपाङ्गतामैत्री पुल निर्माण सम्पन्न हुने चरणमा छ, ६ वटा पुल निर्माणको चरणमा छन्।”