काठमाडौं। निर्माण कार्यका लागि १० घण्टा बन्द गरेर १४ घण्टा मात्र सञ्चालन गरिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । गत कात्तिक २३ गतेदेखि १४ घण्टा मात्र सञ्चालन हुँदै आएको विमानस्थल भोलि (मंगलबार) देखि १८ घण्टा सञ्चालन हुने भएको हो।
त्रिभुवन विमानस्थलमा भौतिक संरचना निर्माण कार्य भइरहेको छ। ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ भने समानान्तर ट्याक्सी वे निर्माणको काम जारी नै रहेको विमानस्थल कार्यालयले जनाएको छ। अहिले उडान रोक्नु पर्ने अवस्था नआउने भएकाले १८ घण्टासम्म विमानस्थल खुला गरिने भएको छ। धावनमार्गबाट ७५ मिटर दायाँबायाँ संरचना निर्माणको काम हुँदा भने उडान रोक्नुपर्ने कार्यालयले जनाएको छ।
त्यसअघि अर्थात भौतिक संरचना निर्माण सुरु हुनु अघि विमानस्थल २१ घण्टा सञ्चालन हुने गरेको थियो।