काठमाडौं। हनुमान दरबार क्षेत्रका तीस सम्पदाको पुनः निर्माण सम्पन्न भएको छ। भूकम्पका कारण क्षति ग्रस्त भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा हालसम्म ३० वटाको पुनःनिर्माण कार्य सम्पन्न भएको हो।
कोरोना भाइरसका कारण रोकिएका सम्पदा पुनःनिर्माणको कामले अहिले तीव्रता पाएको छ। कुनै सम्पन्न भएपनि केहीको भने अझै काम सुरु नै भएको छैन। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनर्निर्माण भइरहेको छ।
यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शैनकक्ष, त्रिभूवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ।
त्यसैगरी दश अवतार र काष्ठमण्डपको पुनःनिर्माण काम अन्तिम चरणमा पुगेको छ। अझै क्षतिग्रस्तमध्ये १७ सम्पदाको पुनःनिर्माणको काम हुन सकेको छैन।
यस ठाउँमा रहेका सम्पदा एकपछि अर्को जोडिएका छन्, त्यसैले एक सम्पदाको काम सम्पन्न नभएसम्म नयाँ काम सुरु गर्न सकिएको छैन। जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भएको हो।