सोलुखुम्बु। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ग्रामीण सडक सन्जाल सुधार आयोजना मार्फत फाप्लुबाट टाक्सिन्दु हुँदै खुम्बु जोड्ने सगरमाथा पर्यटन सडक कालोपत्रको काम सुरु भएको छ । सडक कालोपत्रका लागि फाप्लुस्थित जिरो प्वाइन्टमा कांग्रेसका पर्यटन विभाग प्रमुख तथा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेलजाङबु शेर्पाले शिलन्यास समेत गरिसकेका छन्।
३७ करोड २८ लाख ७६ हजार ७ सय ६० रुपैयाँको लागतमा फाप्लुबाट टाक्सिन्दुको रिङ्मु नजिकसम्म करिब १० किलोमिटर सडक कालोपत्रको काम २ वर्षभित्र सक्न बानियाँ निर्माण सेवा हेटौंडासँग ठेक्का सम्झौता भएको छ।
खुम्बु क्षेत्र जोड्ने रणनीतिक सडकको कालोपत्रे भएपछि दुधकुण्ड जान पनि धेरै सहज हुने छ । निर्माण कम्पनीका प्रतिनिधि उद्धब न्यौपानेले दुई वर्षभित्र कालोपत्रको सक्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।