काठमाडौं नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको छ। लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडकको पूर्वी खण्डमा पछिल्लो समय निर्माण कार्यमा तीव्रता दिएर ५० किमि सडक कालोपत्र सम्पन्न गरिएको हो।
उक्त सडक खण्डको बाँकी १३ किलोमिटर सडकसमेत आउँदो वर्षा अघि नै पूरा गर्नेगरी तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ।
२०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि सँग विसं २०७५ माघ २४ गते सम्झौता भएर काम सुरु भएको थियो। नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थप गरिएको समयमा समेत निर्माण कार्य पूरा हुने सम्भावना कम नै देखिन्छ।