काठमाडौं। गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र गर्न सुरु गरिएको छ । ८.६३८ किलोमिटर सडक कालोपत्र सुरु भएको पूर्वाधार कार्यालयका प्राविधिक कपिल काप्रीले जानकारी दिएका हुन् ।
सडक कालोपत्रको काम वाहकोटबाट सुरु गरिएको छ । सडक कालोपत्रका लागि २०७७ साउन १४ गते जिम्मा एमरएस विरुवा वाइबा एन्ड लामा जेभीसँग २९ करोड ७७ लाख २० हजारमा ठेक्का समझौता गरिएको थियो ।
निर्माण कम्पनीको दोस्रो पटक थपिएको अन्तिम म्याद यही चैत मसान्तसम्म छ । सात मिटर चौडाई र एक मिटरको नालासहितको सडक बन्ने छ । नाला निर्माण, ग्याबिन वाल, मेसिनरी वाल लगाउने काम सम्पन्न भइसकेको छ ।
उक्त सडकका लागि चालु आर्थिक वर्ष २ करोड ५० लाख विनियोजन भएको छ । ट्य्राक खुलेको झन्डै दुई दशकपछि उक्त सडक कालोपत्र सुरु भएको हो । सडकको ट्य्राक २०६३ सालमा खुलेको थियो ।