काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तार कार्य धमाधम भइरहेको छ । दाउन्ने खण्डमा अहिले पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको हो ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ ।
दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म सवारी साधन आवागमन बन्द गरेर विस्तार कार्य अगाडि बढाइने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले २७ गतेदेखि बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरेको हो ।
नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको हो ।