काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडकको हालसम्मको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको छ । आयोजनाका अनुसार हालसम्म सूर्यविनायक–साँगा खण्डमा ३५ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको हो ।
निर्माण अवधि ८ महिना मात्र बाँकी हुँदा ४० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी समयमा ६५ प्रतिशत सम्म मात्र भौतिक प्रगति हुने आयोजनाले जनाएको छ ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ ।