काठमाडौं । काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३८.८० प्रतिशत पुगेको हो । फागुन मसान्तसम्ममा आयोजनाको भौतिक प्रगति ३८.८० प्रतिशत र वित्तीय प्रगति ४०.२४ प्रतिशत पुगेको आयोजनाले जनाएको हो ।
आयोजनाको सुरुङतर्फको भौतिक प्रगति ६१.११ प्रतिशत पुगेको छ । आयोजनामा कुल १८.१५ प्रतिशत पुलको हिस्सा रहने छ । अहिले ८९ स्थानमा पुल निर्माणको काम भइरहेको छ । सडकतर्फ प्यासेन्जर अन्डरपास १, भेइकल अन्डरपास २२ र बक्स कल्भर्ट निर्माण २६ वटा सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनामा अहिले प्याकेज नम्बर १ देखि १० सम्म विभिन्न निर्माणको काम जारी छ । यो आयोजना कुल ७०.९८ किलोमिटर लम्बाइको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा आयोजनाका लागि २२ अर्ब ५४ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ । यसमध्ये फागुनसम्म ६ अर्ब ५७ करोड खर्च भइसकेको छ ।