काठमाडौं । बाढीले उदयपुरको अमाहा खोलामा निर्माणाधीन पुलमा क्षति पुर्याएको छ । बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको हो।
सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुल भाँचिएको कटारी नगरपालिकाले जनाएको छ । पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको हो ।
पुल भाचिँदा दुई करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
पुल ढलान गरिएको २८ दिनपछि त्यहाँको तारहरु तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले ढलान गरेको १८ दिनमै क्षति पुर्याएको छ ।