काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रतिकुल मौसमका कारण विद्युत अवरुद्ध हुँदा ‘लोडसेडिङ’ भनेर भ्रम छरिएको बताएका छन् । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको भन्दै अतिरञ्जित र भ्रामक प्रचार नगर्न आग्रह गरेको हो ।
प्राधिकरणले प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि-मनसुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
विद्युत् अवरुद्ध भएका ठाउँमा प्राधिकरणले देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको जनाएको छ ।