काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्थाबारे जानकारी दिँदै उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए। बाढीबाट ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा करिब ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। सात जलविद्युत् र एक सोलार आयोजनामा क्षति हुँदा २७५ मेगावाट उत्पादन प्रभावित भएको छ भने प्रसारण लाइनमा क्षतिका कारण थप १३५ मेगावाट उत्पादन रोकिएको छ।
बाढीले ५०८ मेगावाट क्षमताका निर्माणाधीन आयोजनासमेत प्रभावित भएका छन्। विभिन्न आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले जानकारी दिए।