काठमाडौँ । लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनमा क्षति पुगेपछि ३५८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार म्याग्दी र पर्वत जोड्ने दाना–कुश्मा खण्डमा प्रसारण लाइनमा क्षति पुगेपछि त्यसमा जोडिएका १२ वटा जलविद्युत् आयोजनाको विद्युत् प्रवाह ठप्प भएको हो।
प्रसारण लाइनमा समस्या आएपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले हालै निर्माण सम्पन्न गरी परीक्षणका क्रममा रहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको उत्पादनसमेत रोकिएको छ।
त्यसैगरी कालीगण्डकी करिडोरमा जोडिएका निजी क्षेत्रका ठूला तथा साना अन्य जलविद्युत् आयोजनाबाट पनि विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
बाढीपहिरोका कारण क्षतिग्रस्त प्रसारण संरचनाको अवस्था पहिचान गरी विद्युत् प्रवाह पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।