डोल्पा । डोल्पाको ताली गाउँ–चिनाराङ्सी पाटन सडक निर्माणका लागि डीपीआर तयार भएको छ । ठूलीभेरी नगरपालिकाको सिमाना भित्रैको करिब १० किलोमिटर सडकको डीपीआर तयार भएको हो ।
डोल्पा–पूर्वी रुकुम जोड्ने सडकको डीपीआर तयार गर्ने काममा पहिलो चरणमा गाउँ–चिनाराङ्सी पाटन सडकको डीपीआर तयार भएको हो ।
डोल्पा–पूर्वी रुकुम जोड्ने सडकको काम पनि ८० प्रतिशत पूरा भएको छ । अहिले चिनाराङ्सीदेखि डोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने ज्ञानेसम्म डीपीआर गर्न बाँकी छ । २० प्रतिशत बाँकी काम पनि हिउँ पग्लिनासाथ सुरु गर्ने आयोजनाले जनाएको छ ।
सडक निर्माण भएमा सिधै मध्यपहाडी लोकमार्गसँग जोडिनेछ भने डोल्पा–काठमाडौं जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।
सडक निर्माणपश्चात् डोल्पाबाट पूर्वी रुकुम–बाग्लुङ–पर्वत–पोखरा हुँदै काठमाडौं एक दिनमै पुग्न सकिने ठूलीभेरी नगरपालिकाले जनाएको छ ।