मोरङ । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको पुल उद्घाटन गरिएको छ । बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुलको उद्घाटन गरेका हुन् ।
पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको बताए ।
उनले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने समेत बताएका छन् । उनले भने, ‘यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकी सहज हुने र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु ।’
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन क्रियाशील रहेको पनि सिंहले बताए ।