दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–५ का स्थानीयले सडकमै केराको बोट रोपेका छन् । तीन वर्षदेखि अलपत्र पारेको भन्दै पिपलबोट र रानीजरुवा क्षेत्रका बासिन्दाहरू सडकमा निस्किएर केराको बोट रोप्दै विरोध गरेका हुन्।
उनीहरुले संघर्ष समिति नै बनाएर सडक निर्माण ढिलाइबारे विरोध गर्दै आएका छन् । समितिका संयोजक काफ्लेका अनुसार करिब ८ सय मिटर लम्बाइको पिपलबोट–रानीजरुवा सडक लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि निर्माण सुरु गरे पनि हालसम्म नबनाएपछि विरोध सुरु गरेका छन् । सडक निर्माणले निरन्तरता नपाएको र सडक धुलाम्य भएको भन्दै स्थानीयहरूले सकडमै प्रदर्शन गर्नु परेको उनले बताए ।
प्रदर्शनका क्रममा स्थानीयले कालो पट्टी बाँधेर एक घण्टा सडक अवरुद्ध गरेका थिए ।