तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माणका लागि सम्झौता भएको अवधिभन्दा तीन महिना अघि नै काम पूरा भएको हो ।
पुल निर्माणका लागि विसं २०८२ असार १५ सम्ममा निर्माण सक्ने गरी उपभोक्ता समितिसँग २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको थियो ।
समयअघि नै पुल निर्माण भएको भन्दै स्थानीय खुसी भएका छन् । पुल बनेपछि घुमाउरो बाटो हिँड्नु पर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
४५ लाख ६८ हजार १९२ रुपैयाँको लागतमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि
गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ सहित लागत साझेदारी गरेको छ । त्यस्तै, स्थानीयवासीले रु ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो ।